काठमाडौं – काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मतगणना जारी छ । कुल खसेको एक करोड नौ लाख मतमध्ये आज बुधबार मध्याह्न्न १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित नेकपा एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली काङ्ग्रेस दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा पुनःमतगणना गर्न बाँकी रहेको छ । दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ । त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ ।
यद्यपी नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गरी सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ । नेता शर्माले सामाजिक सञ्जालमार्फत सो धारणा अघि सार्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत् लेख्नुभएको छ, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौं । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’
यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा काङ्ग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना अझै बाँकी रहेको छ ।