काठमाडौं – नेपाल पत्रकार महासङ्घले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार महासङ्घका पूर्वसभापति नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उहाँले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको र यसबारे प्रहरीको साइबर ब्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको जनाइएको छ ।

‘विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनु भएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासङ्घ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पु¥याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।