काठमाडौं – सङ्घीय संसद्को एक कार्यकाल पूरा भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ भने अब दोस्रो सङ्घीय संसदको कार्यकाल सुरु हुने तरखरमा छ ।
मत परिणाम अन्तिम चरणमा पुगेसँगै सङ्घीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सङ्घीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भइसकेको बताउनुभयो । राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट सुरु हुने उहाँको भनाइ छ । राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताउनुभयो ।
उहाँले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढङ्गले ल्याउनु पर्ने र ती विधेयकहरूको पुनः नयाँ प्रक्रिया (जिरोबाट) सुरु हुने बताउनुभयो । ‘सङ्घीय संसद्को एक कार्यकाल पूरा भएको छ । यो चरणमा सङ्घीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन्,’ उहाँले भन्नुभयो, ’प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । ती विधेयकहरू विचाराधीन अवस्थामा नै छन् । अधिवेशनपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट सुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरू निष्क्रिय भए ।’
सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताउनुभयो ।