काठमाडौं – यहि मङ्सिर ४ गते आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । सो निर्वाचनको परिणामले सत्तारुढ दल नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । तर समानुपातिक मतमा भने एमाले पहिलो बनेको छ । निर्वाचनको परिणामले सरकार गठनका लागि कुनै दललाई स्पष्ट बहुमत नदिएपछि अब फेरि पनि गठबन्धनको सरकार नै गठन हुने अवस्था आएको छ ।
वर्तमान सत्ता गठबन्धनले सरकार गठनको पहल थालेको छ । यही गठबन्धनलाई निरन्तरता दिने गरी सत्ता गठबन्धनबीच छलफल सुरु भएपनि शक्ति बाँडफाँडका विषयमा भने गठबन्धनभित्र कुरा मिलिसकेको छैन । सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी सरकार गठनको प्रयास गरेका बेला समानुपातिकतर्फ ठूलो दल बनेको नेकपा एमालेले पनि अनौपचारिक रुपमा सरकार गठनका लागि प्रयास सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन संवादमार्फत जितको शुभकामना दिँदै औपचारिक संवादको थालनी गरेका थिए ।
माओवादी भित्र पनि बाम शक्तिबीच तालमेल गर्दै वाम सरकार गठन गर्नुपर्ने आवाज उठ्न थालेको पाइन्छ । विशेष गरी माओवादी केन्द्रका महासचिव देव गुरुङ काङ्ग्रेससँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको भन्दै वाम तालमेल गर्नुपर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।