काठमाडौं — हालै सम्मन्न निर्वाचनको समानुपातिकतर्फ अहिलेसमम एक करोड १२ हजार ४७ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक प्रणालीको प्राप्त मत परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याउँदै अग्रस्थानमा रहेको छ । एमालेले अहिलेसम्म २६ लाख ९७ हजार ६ सय ६४ मत प्राप्त गरेको छ ।

यसैगरी दोस्रोस्थानमा नेपाली काङ्ग्रेस रहेको छ । काङ्ग्रेसले २५ लाख ५५ हजार १५९ प्राप्त गर्दा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४१ हजार २ सय ७३ मत प्रात गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत प्राप्त गर्दै चौंथोस्थानमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ७० हजार ३०४ मतसहित पाँचौं स्थानमा सुरक्षित रहेको छ । यता छैटौं स्थानमा भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी रहेको छ । उसले पनि ३ लाख ९३ हजार ५९९ मत प्राप्त गरेको छ ।

नयाँ पार्टीका रुपमा उदाएको जनमत पार्टीले ३ लाख ५४ हजार ३५८ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार १८९ मत मात्र पाएको छ । नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा राम्रै मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलाई थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न धौधौको स्थिति रहेको छ ।

समानुपातिक तर्फ नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४४ हजार तीन सय ४३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ४७ हजार ५०७, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६२९, हाम्रो नेपाली पार्टीले ५३ हजार ९१० र मङ्गोल नेसनल अर्गनाइजेसनले ४७ हजार ८०५ मत प्राप्त गरेका छन् ।
कुनै पनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने व्यवस्था छ।