फाइल तस्वीर


काठमाडौं – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ समानुपातिकको मत गणना गर्ने कार्य जारी छ । निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना भैसकेको छ ।

आयोगका अनुसार कूल खसेको मतको सङ्ख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आङ्कलन अनुसार ३ लाख मत बदर भएका छन् । यस आधारमा कूल सदर मतको सङ्ख्या १ करोड ६ लाख ७० हजार देखिन्छ । आज बुधबार बिहानसम्म गणना भएको ९९ लाख ९३ हजार ५६८ मत पुगेको छ । समानुपातिकतर्फ प्राप्त पछिल्लो मत गणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त मत परिणाम अनुसार पहिलो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नै अग्रस्थानमा रहेको छ भने दोस्रोमा नेपाली काङ्ग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र रहेका छन् । नेकपा (एमाले) ले अहिलेसम्म २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेको नेपाली काङ्ग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ ।

त्यसैगरी प्रत्यक्ष निर्वाचनतर्फ तेस्रो दलका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) को पक्षमा ११ लाख ४३ हजार ५०३ मत प्राप्त भएको छ । माओवादी केन्द्रको पछि पछि रहेको नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत ल्याएर चौंथो स्थानमा रहेको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १० सिट जितेर चौंथो ठूलो दल देखिएको नेकपा (एकीकृत समाजवादी) को भने समानुपातिक मतपरिणामा राम्रो देखिएको छैन । अहिलेसम्म एकीकृत समाजवादीले २ लाख ८१ हजार ३८१ मात्र मत पाएको छ । यसलाई राष्ट्रिय पार्टी बन्न कम्तिमा पनि थ्रेसहोल्ड कटाउनु पर्ने हुन्छ । थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । थ्रेसहोल्ड कटाउन करिब ३ लाख २० हजार मतको आवश्यक पर्ने देखिन्छ । एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासोको विषय पनि बनेको छ ।

थ्रेसहोल्ड कटाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी नेपाल र चन्द्रकान्त राउत(सीके राउत) नेतृत्वको जनमत पार्टी रहेका छन् । नेपाल उन्मुक्ति पार्टी पनिले पनि थ्रेसहोल्ड कटाउन सक्नेदेखिन्छ ।

समानुपातिकतर्फको प्राप्त पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ ल्याएको छ । यसैगरी जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत प्राप्त गरिसकेको छ । यी पार्टीहरु राष्ट्रिय पार्टीको रुपमा रहने निश्चित प्रायः छ ।