नवनिर्वाचित सांसद डा. नारायण खड्का, फाइल तस्वीर ।


उदयपुर – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो प्राप्त नतिजाअनुसार उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर –१ बाट परराष्ट्रमन्त्री एवम् नेपाली काङ्ग्रेसका उम्मेदवार डा.नारायण खड्का निर्वाचित हुनुभएको छ । डा. खड्काले एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

सत्ता गठबन्धन दलका साझा उम्मेदवार बन्नुभएका काङ्ग्रेस नेता खड्का यो पटक समेतगरी चांैथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ । मन्त्री खड्का यस अघिपनि उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०६४, ०७० र ०७४ मा निर्वाचित भएको थियो ।

परराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले ३१ हजार २७० मत प्राप्त गरी निर्वाचित हुनुहुँदा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेकी उम्मेदवार चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्यमा आफ्नो सिट सङ्ख्या बढाएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कुल १६५ सिट सङ्ख्या रहेको प्रतिनिधिसभा सदस्यको १६० स्थानको नतिजा सार्वजनिक भैसकेको छ भने बाँकी ५ सिटको नतिजा आउन बाँकी रहेको छ ।