फाइल तस्वीर ।


काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सरकारले धाँधली लुटलाट कुटपिट गरेर आफ्नो पार्टीलाई हराएको आरोप लगाउनु भएको छ । मङ्गलबार एमालेबाट निर्वाचित सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिटमा खुम्चिएको भन्दै बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको बताउनुभयो ।

नवनिर्वाचित सांसद्हरुलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले ‘कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको’ जिकिर गर्नुभयो । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको भन्दै अध्यक्ष ओलीले धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने दावी समेत गर्नुभयो । उहाँले चर्को घेराबन्दी र चक्रव्यूहमा पनि एमाले नेपालको लोकप्रिय पार्टीको रूपमा स्थापित भएको बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको यसरी उदयहुनु रहस्यमय भएको भन्दै ‘अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो’ भनि प्रश्न गर्नुभएको थियो । एमाले अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै ‘संयोग नै भनौं अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला नि’ भनि उक्त पार्टीप्रति आशङ्का व्यक्त गर्नुभयो ।