फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकता, सम्बृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा जिल्ला भएको बताउनु भएको छ । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुरस्थित खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै माकेका अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले ‘देशको अबको आवश्यकता विकास र सुशासन भएको बताउँदै समाजवादको आधार तयार पार्ने सम्बृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखा तिर आफ्नो ध्यान रहेको भन्दै आगामी ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकासलाई गति दिने दावीसमेत गर्नुभयो । सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने माकेका अध्यक्ष प्रचण्डको भनाइ थियो ।

गोरखाली जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखापर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढङ्गले अगाडि बढ्नु पर्नेकुरामा जोड दिनुभयो । अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरेको बताउनु भएको छ ।