फाइल तस्वीर


काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनार लामोसमयदेखि बसोबास गर्दै आएको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले आज सोमबार डोजर चलाउँदा त्यहाँ तनाव उत्पन्न भएको छ । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

डोजर चलाउँदा स्थानीयले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दै टायर बालेर विरोध गरेका छन् । सुकुम्वासी बस्तीमा महानगरपालिकाको विरोधगर्दै ‘बालेन साह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् ।

विगतमा पनि सरकारले थापाथलिस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन डोजर चलाएको थियो । दशकौंदेखि बागमती किनारको सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई स्थानान्तरण गर्ने पहल पनि नभएको होइन । सरकार त्यहाँको सुकुम्वासी बस्ती हटाउन पहल गरेपछि राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुरुप भोटबैंकको रुपमा प्रयोग गरिरहेकाले थापाथलीको सुकुम्बासी समस्या विकराल बन्दै गएको छ । त्यहाँको समस्या समाधान गर्न सरकार र हरेक राजनीतिक दलले एकसाथ काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।