फाइल तस्वीर
काठमाडौं – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताहरुको भेट पछि पुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच निर्वाचनको परिणामदेखि सत्ता समीकरणका विषयमा छलफल भएको बताइएको छ ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । माकेका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा डेढ घण्टा छलफल भएको केही समयपछि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रधानमन्त्री देउवाबीच पनि छलफल भएको थियो ।

देउवासित प्रचण्ड र नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलका यी दुई नेता छलफलमा जुटेका छन् । ललितपुरको हात्तीवनमा उहाँहरूबीच छलफल चलिरहेको खबर छ ।