फाइल तस्वीर ।


काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएसँगै ठूला पार्टीका शीर्ष नेताहरुको भेटघाट बाक्लिन थालेको छ । यसैबीच प्रत्यक्षतर्फ प्रतिनिधिसभामा धेरै सिट ल्याएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (ए.स.) का अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आउनु भएका पौडेल आज बिहान नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको थियो ।

काङ्ग्रेस वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीका आकाङ्क्षी देखिनु भएको छ । उहाँले आफु प्रधानमन्त्री बन्नका लागि सत्तासाझेदार दलहरुसँग एकखालको छलफल चलाइरहनु भएको छ । त्यसो त निर्वाचनको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तनहुँ पुगेर रामचन्द्र पौडेल भावि प्रधानमन्त्रीको उम्मेदार भएको भन्दै उहाँको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाउन थाल्नु भएको छ । सोही क्रममा वरिष्ठ नेता पौडेल आज बिहान एसका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने एसका अध्यक्ष नेपालको भनाइ रहेको बताउनु भएको छ । एसका अध्यक्ष नेपाल र काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा छलफल भएको स्वकीय सचिव अधिकारीले बताउनु भयो ।

‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ । यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो’ अधिकारीले भन्नुभयो ।

नेपाली काङ्ग्रेस भित्र पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा पनि प्रधानमन्त्रीको आकाङ्क्षी देखिनुभएको छ । दाबेदार छन् ।

निर्वाचनको परिणाम कुनै दलको एकल सरकार बन्न सक्ने अवस्था छैन । नेपाली काङग्रेस होस् या नेकपा एमाले जो जसले सरकार बनाए पनि मिलिजुलीको सरकार बनाउनु पर्ने अवस्था देखिएको छ । प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसले धेरै सिट जितेको छ भने हालसम्मको समानुपातिक प्राप्त मतलाई विश्लेषण गर्दा एमालेले बढी सिट प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ । गठबन्धन दलले मात्रै सरकार बनाउन सक्ने अवस्था पनि छैन । एमाले वा काङ्ग्रेसले सरकार बनाउन कसरत गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित राष्ट्रिय स्वतन्त्र पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोग आवश्यक पर्ने हुन्छ ।

अतः आागामी बन्ने सरकारमा कम्तिमा पनि ४ दल सम्मिलित हुने देखिन्छ । अबको संसद हङ पार्लियामेन्ट’ हो । त्यसैले राजनीतिक खिचातानी र वैदेशिक शक्तिकेन्द्रको प्रभावमा सरकारको आयु छोटिने र लम्बिने निश्चित् त । निर्वाचनको नतिजा, छिमेकी देशहरुको बढ्दो सक्रियादा देख्ता नेपालको राजनीति अझै धमिलिने र देशले मध्यावधि निर्वाचनको सामना गर्नु पर्ने अवस्थालाई नकार्न सकिन्न । राजनीतिक वृत्तमा अहिले यहि टिकाटिप्पणी र विश्लेषण हुन थालेको छ ।