काठमाडौं– अघिल्लो साता सम्पन्न निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्म ९० लाखभन्दा धेरै मत गणना भैसकेको निर्वाचन आयोगले जनाएको छ । आइतबार साँझसम्म कुल ९० लाख २३ हजार ३४६ मत गनिसकिएको आयोगले बताएको छ ।

समानुपातिकतर्फ अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी, लेनिनवादी) अग्रस्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सबैभन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ भने दोस्रोमा नेपाली काङ्ग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको छ । पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ मत प्राप्त गरेको छ ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।