धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादी केन्द्रका दुवै उम्मेदवार पराजित हुँदा उक्त पार्टी सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको हो ।

प्रतिनिधिसभा सदस्यमा एक सिट पनि जित्न नसकेको माओवादी केन्द्रले गठबन्धनको फाइदा लिन सकेन । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर–१ मा पूर्वमन्त्री बीना मगर पराजित हुँदा यस्तो अवस्था आएको हो ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिटमात्रै जितेको नेपाली काङ्ग्रेसले भने यसपटक सोचेभन्दा बढी सिट जितेर पहिलो दल बनेको छ । नेपाली काङ्ग्रेसले कैलाली र कञ्चनपुरमा दुई–दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक–एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम हुन सकेको छैन ।

यस अघिको निर्वाचनमा नेपाली काङ्ग्रेसको अवस्था पनि झण्डै झण्डै अहिले माओवादी केन्द्रको जस्तै बनेको थियो । कुल १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचित भएर नेपाली काङ्गे्रसको इज्जत जोगिएको थियो । काङ्ग्रेस डडेलधुरा बाहेक अरु सबै आठ जिल्लामा पराजित भएको थियो ।

गठबन्धनकै साथ पाएको नेकपा एकीकृत समाजवादीले भने प्रतिनिधिसभा सदस्यमा तीन सिट जितेको छ । समाजवादीले अछाम–१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित भएका हुन् ।

एमालेका तर्फबाट बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर–१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङमात्रै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा एमाले सुदूरपश्चिममा दुई सिटमात्र जित्न सफल भएको हो । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो, तर उनी पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालको जति पनि मत ल्याउन सकेनन् ।

त्यसैगरी, पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो बर्चश्व प्रस्तुत गरेको छ। यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको छ ।