काठमाडौं – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ भएको निर्वाचनमा अहिलेसम्म १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइसक्ने जनाएको छ । यता बाँकी मत परिणामतर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजयकुमार गच्छदारको नजिता आउन बाँकी छ ।

यो समाचार तयार गर्दासम्म प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसले ५३ स्थानमा जितेको छ भने ४ स्थानमा अग्रस्थानमा रहँदा एमालेले ४१ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यमा १० स्थानमा जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७ स्थानमा जितहात पारेका छन् । जनता समाजवादी पार्टी ६ स्थानमा जित निकाल्दा १ ठाउँमा अग्रस्थानमा रहेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले जम्मा ४ ठाउँमा जितेको छ ।

अन्य साना दलमा नेपाल उन्मुक्ति पार्टीले ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जितेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेमा नेपाल मजदुर किसान पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ स्थानमा र स्वतन्त्र ६ स्थानमा रहेको छन् ।