पत्रपत्रिकाबाट

काठमाडौं – मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ । घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ ।

टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ । त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो। उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ । (गोरखापत्र दैनिकबाट)