मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर


कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याएर पराजित भएका छन् । गुप्ताले शाहलाई ३ हजार ६३७ को मतान्तरले हराएका छन् ।
निरन्तर निर्वाचनमा होमिएका गुप्ता नवौं पटक लडेपछि बल्ल सफलता पाएका छन् । पञ्चायतकालीन समयमा २०४३ सालमा पहिलोपटक उम्मेदवार बनेका गुप्ता त्यसपछि २०५६ मा काङ्ग्रेस, २०७० मा तमलोपा, २०७४ मा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवार बने पनि पराजित भएका थिए । पटक पटक पार्टी फेर्दै आएको गुप्ताले यतिबेला एमालेबाट टिकट पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।