काठमाडौं – नेपाल उद्योग परिसङ्घका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ ।

आठ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरु झनै धरासायी भएको बताउँदै उद्योगहरुको उत्पादन लागत घटाउन, युवा उद्योगी जन्माउन र निर्यातमा प्रोत्साहन गर्न सरकारी नीति आउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष अग्रवालले भन्नुभयो, ‘औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ । यसका लागि स्टार्टअप नीति, निर्यात अनुदान र उद्योगको उत्पादन लागत घटाउनु जरुरी छ ।’

नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेको भन्दै उहाँले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिंदै उद्योग खोल्न जग्गा पाउनै कठिन भएको र पाइएको जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको अग्रवालको भनाइ छ ।