फाइल तस्वीर

दमक– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले एमालेले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएको बताउनुभयो । उहाँले भन्नुभयो –‘हामीले भनेजस्तो परिणाम निर्वाचनमा आएन । त्यसैले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

ओलीले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको छ ।’ रासस