प्रकाश ज्वाला, फाइल तस्वीर


सल्यान— प्रतिनिधिसभा सदस्यका लागि सल्यान जिल्लाबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका उप–महासचिव ज्वालाले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतले पराजित गर्नुभएको हो ।

कुल १ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यान जिल्लामा ८४ हजार २२ मत खसेको थियो । जसमा ज्वालाको पक्षमा ३५ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । प्रकाश ज्वालाको प्रमुख प्रतिस्पर्धीका रुपमाा हेरिनुभएका एमालेका उम्मेदवार राजेन्द्रवीर रायले भने १३ हजार २९ मतमात्र प्राप्त गर्नुभएको छ । ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिंदा २०५१ सालको निर्वाचनमा मात्रै पराजय भोग्नु भएको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रकाश ज्वाला गतवर्ष एमालेबाट विभाजित भै माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को उपमहासचिव एवं प्रदेश इन्चार्जसमेत हुनुहुन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रका रुपमा चिनिनुहुने ज्वाला इमान्दार र निष्ठावान व्यक्तिका रुपमा चिनिनुहुन्छ ।