काठमाडौं – मङ्सिर ४ गते आइतबार सम्पन्न सङ्घीय संसद् अन्तर्र्गत रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानमा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।
सत्ता गठबन्धनको मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समााजवादीले यो समाचार तयार पार्दाससम्म प्रतिनिधिसभा सदस्यमा खाता खोल्न सकेका छैनन् । पाँच महिना अघिमात्र गठन भएको रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो घोषित नतिजा अनुसार नेपाली काङग्रेसले अहिलेसम्म १३ प्रतिनिधिसभामा जितेको छ । काङ्गे्रस काठमाडौंका पाँच क्षेत्रमा निर्वाचित भएको छ । अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने एक स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी १÷१ निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसले जितेको स्थान र नवनिर्वाचित सांसद्हरुमा प्रकाशमान सिंह, काठमाडौं– १, सन्तोष चालिसे काठमाडौं ३, गगन थापा, काठमाडौं – ४, प्रदिप पौडेल काठमाडौं – ५, राजन केसी– १०, उदयशमशेर जबरा ललितपुर –१, मोहन आचार्य रसुवा , योगेश गौचन थकाली, मुस्ताङ, टेकबहादुर गुरुङ, मनाङ, शङ्कर भण्डारी तनहुँ – २, शेरबहादुर देउवा डडेल्धुरा, रमेश रिजाल पर्सा –४, हृदयराम थानी, सुर्खेत – २ बाट निर्वाचित भएका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका सांसद्हरुमा प्रेमबहादुर महर्जन ललितपुर –२, कृष्णगोपाल श्रेष्ठ काठमाडौं –९, अम्बरबहादुर रायमाझी उदयपुर –२ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नं–७ बाट गणेश पराजुली, काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ र काठमाडौं २ बाट सोविता गौतम निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीले अछाम १ बाट विजय प्राप्त गरेको छ । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित शेरबहादुर कुँवरले एकीकृत समाजवादीको खाता खोलेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सो पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके –२ बाट निर्वाचित भएका छन् भने नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी कैलाली निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अहिले पछिल्लो विवरणअनुसार कम्तिमा ४२ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेलाई पछ्याउँदै कांग्रेसले ४० स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अझै पाँच स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले १६ स्थानमा अग्रता हासिल गरेको छ ।