काठमाडौं – यहि मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी रहेको छ । निर्वाचन आयोगबाट प्राप्त प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
आयोगका अनुसार हालसम्म काठमाडौं क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसक्नुभएको छ । जारी मतगणनामा काङ्ग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन् । नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, काङ्ग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी दुई, काङ्ग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन् ।
बागमती प्रदेशमा काङ्ग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चाररचार तथा अन्य दुई स्थानमा अगाडि छन् । बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौं निर्वाचन क्षेत्र नं १ मा काङ्ग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र नं १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।
गण्डकी प्रदेशमा काङ्ग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र नं १ बाट काङ्ग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन् । मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा एमाले ११, काङ्ग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन् । कर्णाली प्रदेशमा काङ्ग्रेस र माओवादी केन्द्र चार–चार तथा सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा अगाडि रहेका छन् ।