काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । महामन्त्री थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् ।

राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ । यो क्षेत्रको सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३ हजार ७११ मतमात्र ल्याएका छन् । त्यस्तै नेपाली काङ्ग्रेसका राजुराज जोशी ३ हजार ६७० मतसहित तेस्रो स्थानमा छन् ।