बाजुरा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका थिए ।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

आइतबारको निर्वाचनमा मतदान भइरहेको समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सन्दीप ऐडीको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, विपक्षीको कुटपिटबाट घाइते भएका एमाले कार्यकर्ताका चेतन ऐडीको अछामस्थित बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आज सोमबार त्रिवेणी नगरपालिकामा तनाव भएको छ । तनावपूर्ण अवस्थालाई सामान्यीकरण गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न गृहमन्त्री खाँणले आग्रह गर्नुभएको छ ।