बाजुरा – नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजारका गल्लीहरूमा टायर बालेर प्रदर्शन गरेपछि सदरमुकाम मार्तडी अहिले तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको मृत्युको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काङ्ग्रेसका कार्यक्रताहरुले चेतन अयडीको घरमै गएर कुटपिट गरेको आरोप छ । उपचारका लागि अछामको बयलपाला अस्पताल पु¥याएलगत्तै चिकित्सकले अयडीको मृत्यु भएको घोषणा गरेका थिए । अयडिको शव अहिले बयलपाला अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।

त्रिवेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि सुरक्षाकर्मीले गोली चलाउँदा हिजो एक जनाको घटनास्थलमै मृत्यु भए पश्चात विवादले चर्को रूप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानीय काङ्ग्रेस कार्यकर्ता सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीव अयडीको मृत्युपछि काङ्ग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेको एमालेले आरोप लगाएको छ ।