काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसले सुरुवाती अग्रता लिएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ३२६ ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले २८९ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का किरण पौडेल १८६ मतका साथ तेस्रो स्थानमा छन् । मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको छ ।
यसैगरी भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ । भक्तपुरको खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।

त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो। यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।