फाइल तस्वीर, साङ्केतिक तस्वीर
कास्की – आज भैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्की जिल्लामा ५५ प्रतिशत मत खसेको छ । दुई लाख ९१ हजार ५६८ मतदाता रहेको यस जिल्लामा अहिलेसम्म ५५ प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले बताउनु भएको छ । यस जिल्लाको तीन निर्वाचन क्षेत्र रहेको १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा मतदाताले मत खसाल्दै छन् ।

यता पूर्वी नवलपरासीमा पनि दिउँसो २:३० बजेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनक रूपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

यसैगरी मोरङ जिल्लाबाट प्राप्त जानकारी अनुसार ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवन कश्यप अधिकारीका अनुसार प्रदेशभरबाट आँकडा आउने क्रम जारी छ ।

प्रमुख अधिकृत अधिकारीका अपराह्न ३ बजेसम्मको आँकडामा मोरङमा ५४ देखि ५५ प्रतिशत मत खसेको छ । अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन कार्य भइरहेको जनाइएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ४१ वटा मतदान केन्द्र रहेका छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् ।

यसैगरी मधेश प्रदेशको धनुषा जिल्लामा पनि २:३० बजेसम्ममा ४२ प्रतिशत मत खसेको थियो । जिल्लाको चार निर्वाचन क्षेत्रको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान सुरु हुँदा साढे दुई बजेसम्ममा ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुई लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेको यस जिल्लाको निर्वाचन कार्यालयका अनुसार धनुषामा अहिलेसम्म शान्तिरुपमै मतदान भइरहेको छ ।