काठमाडौं – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा मतदाताहरुको उपस्थिति कम भएको जनाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘प्रारम्भिक अनुमानमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको भन्ने छ’ भनि जानकारी गराउनु भयो । बिहान चिसो भएका कारण मतदानमा कम उत्साह देखिएको हुन सक्ने उहाँको भनाइ थियो ।

आयोगका प्रवक्ता पौडेलले ‘काठमाडौँमै पनि बिहानै मतदाता त्यति आएको देखिएन । १०–११ बजेपछि मतदाताको भिड देखिन थालेकाले अब दिनको दोस्रो खण्ड अर्थात दिउँसो मतदान बढी हुन्छ भन्ने अपेक्षा छ’ भन्नुभएको छ । अहिले नै मत कति खस्ला भनेर अनुमान गर्न नसकिने आयोगले जनाएको छ ।

मतपेटिका आइसेकपछि बेलुका राजनीतिक दलहरु बसेर छलफल गर्ने र त्यसपछि मतगणना हुने प्रवक्ता पौडेलले बताउनु भयो । प्रवक्ता पौडेलले ‘कम्तिमा देशका केही स्थानमा आज अबेर रातिदेखि मतगणना सुरु हुनेछ’, दावीसमेत गर्नुभयो ।