प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर ।


काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आइतबार राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताउनु भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग भरे नौ बजेबाट मतगणना गरिने बताउनु भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको सञ्चारकर्मीहरुलाई बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी ८ दिन भित्रमा प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्ने र मङ्सिर २२ गते भित्रमा सबै नतिजा आउने दावीसमेत गर्नु भयो ।

अहिलेसम्मको सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको छ भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ७० प्रतिशतभन्दा बढी मतदान हुन्छ भन्नेमा हामी ढुक्क छौं भन्नुभएको छ ।

आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू सङ्कलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका सङ्कलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने उहाँको भनाइ थियो ।