प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर ।

काठमाडौं – निर्वाचन आयोगका अनुसार आज सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताउनु भएको हो ।

आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका सङ्कलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’

हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने बताए । निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उहाँले मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए । सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको भन्दै ढुक्क भएर मत खसाल्न आह्वान गरे ।