फाइल तस्वीर ।


काठमाडौं – नेपाल प्रहरीले भोलि मङ्सिर ४ गते आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको जनाएको छ ।

देशभर विभिन्न स्थानमा गरी १० हजार ८ सय ९२ मतदान स्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा हुने मतदानका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित एक लाख ८६ हजार ६९३ जना प्रहरी परिचालन हुने छन् । नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईले ‘निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने’ बताउनु भएको छ ।

मतदानस्थलमा हुनसक्ने सम्भावित घटना ढुङ्गामुडा गर्ने, मतदान कार्यक्रमलाई स्थगित गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्नेलगायत गतिविधि गर्नेविरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने आदेश जारी भएको प्रवक्ता राइले बताउनु भएको छ ।

प्रवक्ता राईका अनुसार निर्वाचनविरोधी गतिविधि गर्ने समूहहरु पहिचान भइसकेकाले उनीहरुलाई निगरानीमा राखिएको र केहीलाई पक्राउ गरी मुद्दा चलाइएको छ । निर्वाचनको सुरक्षाका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्नुको साथै रिर्जभ टोली राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।