राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर ।


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले विज्ञप्तिमार्फत् निर्वाचनलाई निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा ‘शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ’ भनि उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा ‘आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ’ भनिएको छ ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उल्लेख गर्दै ‘आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ’ भनिएको छ ।

राष्ट्रपति भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको चर्चा गर्दै ‘यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु । यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु’ भनि उल्लेख गर्नुभएको छ ।