काठमाडौं – सरकारले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मङ्सिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ –’ मङ्सिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मङ्सिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मङ्सिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’