फाइल तस्वीर

काठमाडौं– कृषि सामग्री कम्पनीले डीएपी र युरिया रासायनिक मल ल्याएको छ । कम्पनीले चालू आ.व.को पहिलो ४ महिनाको अवधिमा १ लाख ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिएको हो ।

यससँगै विगत लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानले यसपटक भने सहज रूपमा मल पाउने भएका छन् । कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र कार्कीका अनुसार गत साउन महिनादेखि नै धमाधम रासायनिक मल आइरहेकोले विगतमा जस्तो यसपटक मलको अभाव नहुने भएको छ । कम्पनीसँग हाल २२ हजार ५ सय मेट्रिक टन डीएपी मल मौज्दात रहेको कम्पनीले जनाएको छ । यस्तै, ३ हजार ५ सय मेट्रिक टन पोटास समेत कम्पनीसँग मौज्दात रहेको प्रवन्ध निर्देशक कार्कीको बताएका छन् ।

कम्पनीले ग्लोबल टेण्डरमार्फत् ल्याउन लागेको युरिया मलसमेत धमाधम आउन थालेको छ । अझै थप २ हजार ५ सय मेट्रिक टन मल आइरहेको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका कारण केही दिनका लागि मल ल्याउने काम रोकिएको कम्पनीले जनाएको छ ।

चालू आर्थिकको यस अवधिमा ९० हजार मेट्रिक टन युरिया मल र ४० हजार मेट्रिक टन डीएपी मल आइसकेको छ । थप ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल आउने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनीसँग आगामी दिनमा कूल १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहने हुँदा किसानहरुलाई यस पटक गहुँका लागि आवश्यक पर्ने मलको समस्या नहुने कम्पनीले जनाएको छ ।