काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । आज बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो,– ‘तयारी लगभग पुरा भएको छ ।’

उहाँले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताउनुभयो । त्यसक्रममा उहाँले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । त्यस्तै उहाँले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ । निर्वाचनका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।