नेपालगञ्ज – नेपालगञ्जको भृकुटीनगरमा बुधबार साँझ भएको बम विस्फोटमा दुईजना घाइते भएका छन् । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ । सो विस्फोटमा विप्लव समूहका विद्यार्थी संगठन जिल्ला अध्यक्ष डिल्लीबहादुर डिसी क्षेत्री र सदस्य धर्मराज सुनार घाइते भएका छन् ।

उनीहरुरूको भेरी प्रादेशिक अस्पतालना उपचार भइरहेको जनाएको छ । विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । सो घटनामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर ४ को चुनाव बिथोल्ने उद्देश्यले बम बनाइरहेका बेला एक्कासि विस्फोट भएको प्रहरीले जनाएको छ ।

स्थानीय श्रीकला मल्लको घरमा बस्दै आएका विप्लव समूहका नेताको कोठामा बम बनाउने क्रममा विस्फोट भएको हो । सोही घरबाट प्रहरीले थप दुईवटा प्रेसर कुकर बमसमेत फेला पारेको छ । घटनास्थलमा भेटिएको कुकर बम नेपाली सेनाको बज्रदल गण राँझाको टोलीले निष्क्रिय पारेको हो ।