फाइल तस्वीर

ताप्लेजुङ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार ताप्लेजुङ र खोटाङ जानुहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.गङ्गालाल तुलाधरसहितका नेताहरुले ताप्लेजुङ र खोटाङ जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्नु हुनेछ ।

गठबन्धन दलका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाका सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकाहरुमा चुनावीसभा सम्पन्न गरिसकेको छ । भोलिदेखि चुनावीसभा लगायतका कार्यक्रमहरु गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

ताप्लेजुङ्गमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् भने प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र नेपाली काङ्ग्रेसका खगेनसिहं हाङ्गाम प्रदेशसभा (२) का लागि उम्मेदवार रहेका छन् । ताप्लेजुङमा गठबन्धनले आठ पालिकामा चुनावीसभा सम्पन्न गरिसकेको छ ।

यसैगरी खोटाङ जिल्लाको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले बताए अनुसार सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । खोटाङ जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । खोटाङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा नेपाली काङ्ग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।