फाइल तस्वीर

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । हिजो मङ्गलबार धनगढी पुग्नुभएका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यहि ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चुनावी कार्यक्रम सम्बोधनका लागि उहाँ सुदूरपश्चिम पुग्नुभएको हो । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला जानुभएको थियो । सो क्रममा उहाँ चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी हुनुभएको थियो ।

देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ । यो पटक देउवासँग काङ्ग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।