काठमाडौं – नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग आज भेटवार्ता गरेका छन् । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्ग बताउँदै अहिलेको अवस्थाबारे जानकारी लिनका लागि मेयर बालेनको कार्यकक्षमा पुगेका हुन् ।

मेयर बालेनले फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताउँदै आफ्नो योजना सुनाउनुभएको हो । भेटवार्ताका क्रममा मेयर बालेनले भन्नुभयो “फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।” महानगरका प्राथमिक कार्यक्रमका बारेमा बताउँदै मेयर शाहले मूर्तअमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र पुनस्र्थापना, खुला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोग गर्ने बताउनुभयो ।