काठमाडौं – निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीलाई पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचय पत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने आयोगका सचिव गोकर्णमणि दुवाडीले बताउनुभयो । खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने उहाँले बताउनुभएको हो ।

यसैगरी निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक नपर्ने बताइएको छ । सचिव दुवाडीका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनैतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक छैन । सचिव दुवाडीले सूचना तथा प्रशारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानून बमोजिम दर्ता भइ प्रेस काउन्सिलमा दर्ता भइ सूचीकृत भएका सञ्चार निकायहरूको परिचय पत्रको आधारमासमेत सवारीसाधनको हकमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

आयोगले अशक्त व्यक्तिहरूको हकमासमेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमति पत्र दिने व्यवस्था गरेको छ । त्यस्तै पूर्ण अपाङ्गता भएका वा क वर्ग र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूको हकमा पनि अवधि कायम रहेको परिचय पत्रको आधारमा सवारीसाधन प्रयोग गर्दा अनुमति चाहिने छैन । निर्वाचन आयोगले अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको छ । मानवीय उद्धार तथा सहायता एवं आपत्कालीन अवस्थामा प्रयोग गर्ने सवारीसाधनको हकमा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्न सकिने आयोगले जनाएको छ । निर्वाचन प्रतिनिधिहरूले सम्बन्धित निर्वाचन अधिकृतबाट तोकिए बमोजिमको मापदण्डको आधारमा अनुमतिपत्र प्राप्त गर्नेछन् ।