सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गर्नुभएका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गर्नुभएको हो ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गर्नुभएको हो । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आउनुभएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ ।

उहाँले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिने समेत बताउनुभयो । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ । विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।