धादिङ –नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र नम्बर एकका मतदाताहरुसँग भेटघाट गर्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनु भएका एसका नेता पाण्डेले जनमतको कदर गर्न र संविधानको रक्षार्थ गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताउनुभएको हो ।

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्खप्रसाद ओलीले संविधानमाथि पटक–पटक प्रहार गर्दै दुईपटकसम्म संसद् विघटन गरेको भन्दै जनताको मतको उपहास गर्ने दललाई मतदिनु गलत हुने बताउनुभयो । धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको गठबन्धनको उम्मेदवार बन्नुभएका पाण्डेले निर्वाचनमा सिद्धलेक गाउँपालिकाका मतदातासँग भेटघाट गर्दै लोकतान्त्रिक वाम गठबन्धनको औचित्यलाई निर्वाचनमा प्रमाणित गर्नुपर्ने बताउनुभएको हो।

पाण्डेले धादिङ जिल्लाको विकासमा आफू ४० वर्षदेखि सक्रिय रहेको बताउँदै निर्वाचनपछि बन्ने साझा सरकारले मुलुकमा तीव्र विकास गर्ने र त्यसमा आफ्नो महत्त्वपूर्ण भूमिका रहने जिकिर समेत गर्नुभएको थियो । धादिङ क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले पाँच वर्षको अवधिमा त्यस क्षेत्रको विकास निर्माण जनताको जीवनस्तर उकास्न विभिन्न योजना कार्यान्वयन गरेको बताउनुभयो ।