ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं ललितपुर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।
आज आइतबार ललितपुर ३ को चुनावी घरदैलो कार्यक्रममा ऊर्जामन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेकाले यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताउनुभएको हो ।

मन्त्री भुसालले आफूले ललितपुर ३ का जनताका लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबी समेत गर्नुभयो । आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले आफ्नो प्रचार–प्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाइरहेका बेला मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरू सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताउनुभयो ।