फाइल तस्वीर

विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा हिजो शनिबार विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उहाँले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।

नेता कोइरालाले मुलुकमा सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरी सङ्घीय गणतन्त्रलाई स्थायित्व प्रदान गर्न गठबन्धन दलका उम्मेदवारलाई छान्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले भन्नुभयो, ‘मुलुकलाई समृद्धि कायम र रोजगारी सिर्जना गर्ने उम्मेदवार छान्न आवश्यक रहेको छ ।’ राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले जनताको विकासको चाहना पूरा गर्नका लागि गठबन्धनका दलका उम्मेदवारको विजयी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले मुलुकमा उद्योग व्यवसाय स्थापनामा बाधा उत्पन्न हुने कानुन एवं नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसले आफ्नो सङ्कल्पपत्रमा स्रोतको सुनिश्चितता कायम गरी पूरा गर्न सक्ने योजना राखेको विश्वास दिलाउनुभयो ।