दिपायल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्। डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला !’ भन्दै कटाक्ष गरेका हुन्।

‘६० वर्षदेखि भारतले कालापानीमा भारतीय फौज राखेको छ, दार्चुला पुगेर हामी फिर्ता ल्याउँछौं भन्दा प्रधानमन्त्री ज्यूले आक्रोशित भएर बोलेर जमीन फिर्ता आउँछ भन्नुभयो,’ उनले भने, ‘बोल्न पनि नसक्नेले के गर्लान् ?’ कार्तिक १८ गते दार्चुलामा नेकपा एमालेको आमसभालाई उद्घाटन गर्दै ओलीले भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउने बताएका थिए ।

त्यस पछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको एक चुनावी सभालाई सम्बोधन गर्दै सीमा जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने बताएका थिए। उनले बोलेरै मात्रै नेपाली भूमि फिर्ता नहुने बताउँदै कुटनीतिक तवरले वार्ताका मार्फत समस्या समाधान गरिने बताएका थिए। देउवाको त्यसै भनाइप्रति ओलीले शनिबार नेकपा एमालेले डोटीको दीपायलमा आयोजना गरेको आमसभामा कटाक्ष गरेका हुन। दबावपछि मात्रै अन्य राजनीतिक दलहरु भारतले हडेपिएको भूमि समेटेर नक्सा जारी गर्न सहमत भएको उनको जिकिर थियो।

आफूले लिम्पियाधुरा, लिपुलेकबारे स्पष्ट धारणा प्रधानमन्त्रीसँग सोधेको पनि उनले बताए। ‘जो बोल्न सक्दैन त्यसले केही गर्ला? मैले उहाँहरुलाई सोधें तपाईंहरुको देष्टिकोण के हो?’ ओलीले भने, ‘तर उहाँहरुले भन्न सक्नुभएन्। उहाँ र प्रचण्ड सल्लाह गरेर केपी ओलीले एक्लै गरेको हो र संविधानमा संशोधन भन्नुभयो। मैले कहाँ एक्लै हुन्थ्यो, संसदका सबै सदस्यले सर्वसम्मतले गरेको हो। बाध्यता सबैलाई भयो। मैले एक्लै नाकाबन्दीको सामना गरेको होइन, नेपाली जनताले गरेको हो।’