साङ्केतिक तस्वीर

तनहुँ – पृथ्वी राजमार्ग सडक विस्तारको काम तीव्र रूपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उहाँले बताउनुभयो । ’सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ’काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उहाँले बताउनुभयो । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिनुभयो । व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आइपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उहाँले भन्नुभयो, ’आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।’

जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकालले बताउनुभयो । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उहाँको भनाइ छ । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकालले बताउनुभयो । रासस