फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमाथि दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाउनुभएको हो ।

नेता नेपालले एमाले अध्यक्ष आलीलाई आफूले टक्कर दिएपछि उनी बौलाएर जथाभाबी बोल्न र बर्बराउन थालेको बताउनुभयो । अध्यक्ष नेपालले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएको दावीसमेत गर्नुभयो ।

एसका अध्यक्ष नेपालले ‘आफुले ओलीलाई टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराउँदै के के उट्पट्याङ कुरा गर्छन् गर्छन’ भन्नुभयो । एमाले अध्यक्ष ओलीले बोलाका कुराहरुको तथ्य सङ्कलन गरेर राख्न पनि नेता नेपालले आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले ओलीमा तानाशाही शासकहरुमा जस्तै जे मन लाग्यो त्यो बोल्ने, अरुमाथि बदलाको भावलिंदै आक्रामक हुने, अरुलाई अपमानित गर्ने र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति मौलाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै नेता नेपालले ‘ओलीको प्रवृत्तिले स्थानीय तह निर्वाचनमा एमालेले ठूलो धक्का खाएको भन्दै अहिले केपी ओली दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ भन्ने र देश विखण्डन गर्ने शक्तिहरुसँग चुनावी साँठगाँठ गरेर जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै सखाप पार्न उद्दत्त रहेको बताउनुभएको छ ।