फाइल तस्वीर

काठमाडौं – नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ । अहिले बिहान भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ । देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । वर्षा र हिमपात हुने सम्भावना रहेकाले महाशाखाले आगामी २४ घण्टासम्मका लागि चेतावनी दिएको छ । देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुका साथै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।