फाइल तस्वीर
बैतडी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताउनुभयो । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । ‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबन्धन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।’
अध्यक्ष दाहालले काङ्ग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो ‘म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उतिबेलादेखि नै माओवादी र काङ्ग्रेसबीच सहकार्य भएको हो ।’
उहाँले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुण्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।’ उहाँले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताउनुभयो ।
बैतडीमा काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा उत्रिनुभएको छ । प्रदेशसभा (१) मा काङ्ग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा काङ्ग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।