फाइल तस्वीर


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न आफ्नो सामाजिक सञ्जालमार्फत् सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु भएर मध्यरातमा गएको भूकम्पका कारण डोटीमा घर भत्किएर पुरिंदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पु¥याएको छ । मङ्गलवार मध्यरातको २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले यहाँ सहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएको बताइएको छ ।

हिजो राति ९ बजेर ७ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको केन्द्रले बताएको छ । डोटिमा गएको भूकम्पबाट के कति मानवीय र भौतिक क्षति भएको छ भन्ने विवरण अझै आउन बाँकी छ ।